About Us

२०४५ सालको आकडालाइ हेर्दा नारायणगढ बजारमा करिव ३०० जति फेन्सी व्यवसायीहरु रहेको थियो । त्यतिवेला व्यसायका लागि आवश्यक सामानहरु काठमाडौं लगाएत विभिन्न स्थानहरुबाट ल्याउनु पर्थ्यो । अहिले जस्तो ट्रान्स्पोर्टको सुविधा थिएन । व्यवसायीहरुको हकहित र व्यवसाय प्रवर्द्धन तथा विस्तार गर्नका लागि उद्योग वाणिज्य संघको उपसमितिको रुपमा फेन्सी व्यवसाय उप–समिति तत्कालीन नारायणी फेन्सी स्टोर्सका सञ्चालक हरिश्चन्द्र पियाको नेतृत्वमा गठन गरिएको थियो । त्यसले चुङ्गीकर लगायत फेन्सी व्यवसायीहरुमा पर्ने अनेक विवाद अप्ठ्याराहरुलाई सामाना गर्दै गयो र सोमवार बजार/व्यवसाय बन्द गरि एकता प्रदर्शन गर्ने कार्यको थालनी समेत गरियो । समयले कोल्टे फेर्दै गयो फेन्सी व्यवसायी उप–समिति पनि फेन्सी व्यवसायी संघको रुपमा दर्ता भई अगाडि बढ्यो त्यस विचमा श्री विजय प्रकाश तण्डुकार, श्री प्रधुम्न कुमार सापकोटा र पुःन श्री विजय प्रकाश तण्डुकार नै क्रमश फेन्सी व्यसायी संघको अध्यक्ष हुनु भयो । त्यस बेला आर्थिक मन्दीको कारण धेरै व्यवसायीहरु चर्को र झन्झटिलो व्याजबाट आक्रान्त भई व्यवसाय बन्द गर्नेदेखि भाग्ने र पलायन हुने सम्म भयो र फेन्सी व्यवसायी संघ माथि नै चुनौती थपिदै गयो । त्यतिवेला श्री नलकण्ठ मरासेनी फेन्सी व्यवसायी संघका सचिव हुनुहुन्थ्यो भने श्री नारायण प्रसाद कंडेल संघमा सल्लाहकारको भूमिका निर्वाह गर्नुहुन्थ्यो । वहाँहरुले फेन्सी व्यवसायमा मात्र सिमित दायरा बनाई सदस्यहरुको आर्थिक, सामाजिक र सास्कृतिक विकासका लागि बचत तथा ऋणको कारोबार प्रारम्भ गर्नुपर्ने राय सुझाब पटक–पटक राखे पश्चात उक्त विषयलाई फेन्सी व्यवसायी संघको २०६६ साल पौष महिनामा भगेरी थानमा सम्पन्न वार्षिक साधारण सभामा प्रस्तुत गरिदा सभाबाट अनुमोदन गरिएको थियो । बजारमा छरिएका रहेको सा–साना पूँजीलाइ एककृत गरि संस्थामा आवद्ध सदस्यमाझ परिचालन गर्ने, सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यका साथ सहकारीको मूल्य मान्यता तथा सिद्धान्तलाइ आत्मासाथ गर्दै ३८ जना व्यक्तिहरुबाट शुरु गरिएको सहकार्यलाई मूर्त रुप दिदै फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नामाकरण गरि आधिकारीक रुपमा २०६८/११/११ गतेका दिन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय भरतपुर चितवनमा दर्ता गरिएको थियो । प्रारम्भिक अवस्थामा संस्थाको जिम्मेवारी तत्कालिन संघका अध्यक्ष श्री विजय प्रकाश तण्डुकारलाई दिईएको थियो ।